जनकपुर, २१ असार। मधेस प्रदेशका विपक्षी दलहरूले प्रदेश सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, अवैज्ञानिक, बिचौलियामुखी र मन्त्रीमुखी भएको आरोप लगाउँदै कुनै पनि अवस्थामा पारित हुन नदिने चेतावनी दिएका छन्।
आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी, जनमत पार्टी र राप्रपाका नेताहरूले बजेटले संघीयताको मर्मविपरीत काम गरेको दाबी गरे। पूर्वमुख्यमन्त्री लालबाबु राउतले गौरवका योजना समावेश नगरिएको र टुक्रे योजनालाई एकीकृत गरेर बजेट विनियोजन गरिएको बताए।
पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बजेट अर्थशास्त्रका सिद्धान्तविपरीत रहेको भन्दै कार्यान्वयनमै चुनौती आउने बताए भने सरोजकुमार यादवले बजेट क्षेत्रमुखी भएको आरोप लगाए। पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवले बिचौलियालाई पोस्ने गरी योजना समावेश गरिएको दाबी गरे।
प्रदेशसभा सदस्य उपेन्द्र महतोले मुख्यमन्त्रीको क्षेत्रमा बढी बजेट विनियोजन भएको तथा बजेट सुनिश्चितताबिनै बहुवर्षीय योजना अघि बढाउँदा कार्यान्वयनमा समस्या आउने भन्दै सरकारलाई सचेत गराएका छन्।














