काठमाडौँ, २१ असार । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा लेखा प्रमुख रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला लामालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई सशस्त्र प्रहरी मुख्यालयको पत्रका आधारमा ठमेलबाट पक्राउ गरी ठगी र आपराधिक विश्वासघात कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उजुरीअनुसार विद्यालयको बैंक खातामा हुनुपर्ने करिब साढे ४ करोड रुपैयाँ विगत चार वर्षदेखि व्यक्तिगत खातामा राखी दुरुपयोग गरिएको आरोप छ।
घटनामा इन्स्पेक्टर गुरुङको मुख्य भूमिका रहेको आशंका गरिएको छ भने लेखापाल डीएसपी महेन्द्र हमाल पनि छानबिनको दायरामा छन्।
यसअघि पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोपमा विभिन्न निकायमा उजुरी परेको थियो।














