काठमाडौं, १९ असार। काठमाडौंमा केही निजी विद्यालयले एसईई उत्तीर्ण विद्यार्थीको क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटका नाममा ५ हजारदेखि १० हजार रुपैयाँसम्म शुल्क लिएको गुनासो बढेको छ।
काठमाडौं महानगरपालिकाले यस्तो मनपरी शुल्क असुल्नु गैरकानुनी भएको भन्दै आवश्यक परे कारबाही गरिने जनाएको छ। महानगरका अनुसार सामान्य प्रशासनिक खर्चबापत २ हजार रुपैयाँभन्दा बढी शुल्क लिन मिल्दैन।
यता, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पनि केही विद्यालयले नियमविपरीत बढी शुल्क लिएको स्वीकार गर्दै दोषी विद्यालयमाथि कारबाही हुनुपर्ने बताएका छन्।












