काठमाडौं, ५ असार । समाचार प्रकाशन गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष गोपाल बराइलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको घटना सार्वजनिक भएको छ ।
पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज र धम्की दिइएको घटनाले प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । प्राप्त विवरणअनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी पर्शु कार्कीले सामाजिक सञ्जाल म्यासेन्जरमार्फत बराइलीलाई अपमानजनक भाषा प्रयोग गर्दै धम्की दिएका हुन् ।
कार्की नेपाली कांग्रेस धनकुटाका सक्रिय कार्यकर्ता तथा एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको जनाइएको छ । म्यासेन्जरमा पठाइएको सन्देशमा कार्कीले पत्रकार बराइलीलाई लक्षित गर्दै, धेरै चुमचुम भइरहेको छ, अलि होस गर्ने, जिन्दगीको अलि माया गर्ने गर्नू । धेरै जात नजनाउनु, तँलाई हामीले राम्रै चिनेको छ, भन्ने अभिव्यक्ति दिएका छन् ।
उक्त सन्देशलाई पत्रकारमाथिको प्रत्यक्ष धम्कीको रूपमा हेरिएको छ । बराइलीले बिहीबार धनकुटा एफएम डटकममा अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा ? शीर्षकको समाचार प्रकाशित गरेका थिए ।
राहदानी छपाई तथा खरिद प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित उक्त समाचारपछि आफूलाई धम्की आएको बराइलीले बताएका छन् । पत्रकारिता क्षेत्रका जानकारहरूका अनुसार कुनै समाचारको विषयमा असहमति भए कानुनी वा तथ्यगत आधारमा खण्डन गर्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई व्यक्तिगत रूपमा धम्क्याउने कार्य लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको मर्मविपरीत हो ।
सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्ने संवैधानिक तथा कानुनी अधिकार राख्ने भएकाले पत्रकारलाई डर, त्रास वा दबाबमा पार्ने प्रयास अस्वीकार्य मानिन्छ ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । साथै, पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दबाब तथा आक्रमणलाई मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिने गरिन्छ ।
घटनापछि पत्रकार महासंघ, नागरिक समाज तथा प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने संस्थाहरूले यस विषयमा चासो व्यक्त गर्ने अपेक्षा गरिएको छ । पत्रकार बराइलीमाथि आएको धम्कीबारे सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने मागसमेत उठ्न थालेको छ ।
सञ्चारकर्मीहरूले समाचार लेखेकै कारण धम्की र त्रासको वातावरण सिर्जना हुनु लोकतान्त्रिक समाजका लागि चिन्ताजनक विषय भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा सुनिश्चित गर्न राज्य र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।














