जनकपुर, ५ असार । चोरको आरोपमा निर्घात कुटपिटबाट गम्भीर घाइते भएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–३ निवासी मग्नु दासको उपचारका लागि आर्थिक अभाव देखिएको भन्दै दलित विकास समितिले पीडितलाई आवश्यक सहयोग जुटाउन पहल थालेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–८ मा खाना माग्न एक व्यक्तिको घरमा पुगेका बेला दासमाथि चोरको आरोप लगाउँदै बाँसको भाटा लगायतका सामग्री प्रयोग गरी कुटपिट गरिएको परिवारले जनाएको छ ।
घटनामा उनको हात, खुट्टा, छाती, पाखुरा, औँला र टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने केही हड्डीसमेत भाँचिएका छन् ।
हाल जनकपुरधामस्थित स्वस्तिक अस्पतालमा उपचाररत दासको उपचारमा अहिलेसम्म करिब ६ देखि ७ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन परिवारलाई कठिनाइ भइरहेको छ । पीडितकी छोरीले उपचारका लागि आफ्ना गरगहना बेचेर करिब १ लाख ५० हजार रुपैयाँ अस्पतालमा बुझाइसकेकी छन् ।
तर अझै ठूलो रकम तिर्न बाँकी रहेको र थप उपचारका लागि बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने अवस्था रहेको परिवारको भनाइ छ । घटनाबारे जानकारी पाएपछि दलित विकास समिति मधेश प्रदेशका उपाध्यक्ष जितेन्द्र पासवान अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उनले पीडितलाई आवश्यक राहत तथा उपचार सहयोग उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पासवानले आर्थिक अभावका कारण उपचार प्रभावित हुन नदिन सरकारी निकाय, सामाजिक संघसंस्था तथा सहयोगी मनहरूलाई पीडित परिवारको साथ दिन आग्रह गरेका छन् ।
उनले दलित समुदायमाथि हुने यस्ता अमानवीय घटनाप्रति राज्य गम्भीर हुनुपर्ने र पीडितले न्यायसँगै उपचार सहयोग पाउनुपर्ने बताए । पीडित परिवारले उपचारका लागि तत्काल आर्थिक सहयोग आवश्यक रहेको भन्दै सरकार, संघसंस्था तथा सहयोगी व्यक्तिहरूसँग सहयोगको अपिल गरेको छ ।














