झापा, ३ असार । भारतले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर -एसओपीका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि झापाका चिया उद्योगीले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल चिया उत्पादक संघ, झापाले बुधबार पत्रकार सम्मेलन गर्दै भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया भारत निर्यात हुन नसकेको र उद्योग सञ्चालन गर्न कठिन भएको जनाएको छ ।
संघका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित चियामध्ये वार्षिक करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको थियो ।
संघले चिया क्षेत्र संकटमा परेकाले सरकारसँग कूटनीतिक पहल गरी बंगलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरेको छ ।
चिया क्षेत्रले करिब ६० हजार श्रमिकलाई रोजगारी दिनुका साथै वार्षिक एक अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको छ ।














