काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- का सांसद दिपककुमार साहले सरकारले ल्याएको बजेट आवश्यकता र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको बताएका छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले बजेट राम्रो भए पनि प्रभावकारी कार्यान्वयनबिना अपेक्षित परिणाम नआउने बताए । साहले राष्ट्रिय गौरवको हेटौंडा–ढल्केबर–दुहवी ४०० केभी प्रसारण लाइन आयोजना वन क्षेत्रमा पर्ने १२ किलोमिटर खण्डमा रुख कटान स्वीकृति नपाउँदा ७८५ दिनदेखि अल्झिएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले ढिलाइका कारण देशले वार्षिक करिब ४ अर्ब रुपैयाँको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरे ।
उनले रुख कटान स्वीकृति प्रक्रिया तत्काल टुंग्याउन, ढिलाइको कारण छानबिन गर्न र राष्ट्रिय गौरवका आयोजनाका लागि समयसीमा सहितको एकल विन्दु स्वीकृति प्रणालीÚ लागू गर्न सरकारसँग माग गरेका छन् ।














