काठमाडौं, असार २ । प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि बैठक फेरि अवरुद्ध भएको छ।
विपक्षी दलका सांसदहरूले नौवटा मन्त्रालयको बजेटमाथि छलफल भइरहँदा केवल तीन जना मन्त्री मात्र उपस्थित रहेको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले बजेटमाथिको छलफलका समयमा सम्बन्धित मन्त्रीहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्।
सांसदहरूको विरोधपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
यसअघि आइतबारको बैठकमा पनि मन्त्रीहरूको अनुपस्थितिको विषय उठेको थियो। त्यसबेला एमाले सांसद राजेन्द्र राई रोष्ट्रम अगाडि उभिएर विरोध जनाएपछि सभामुखले बैठक रोक्दै मन्त्रीहरूलाई उपस्थित गराउन निर्देशन दिएका थिए।














