काठमाडौं, १३ जेष्ठ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित केही पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ ।
मधेससहित कोशी, बागमती र गण्डकीका तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना पनि रहेको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।














