काठमाडौं, ११ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूको कमजोर कार्यशैलीका कारण अझै पनि आधारभूत आवश्यकतासम्बन्धी विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएको छ ।
नागार्जुन नगरपालिकाले आयोजना गरेको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सडक, खानेपानीलगायत पूर्वाधार विकासका विषयलाई राजनीतिक मुद्दा बनाउने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।
उनले विगतमा सरकारहरूले जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर प्रभावकारी रूपमा काम गरेको भए राजधानीमै आधारभूत सेवासुविधाको अभावबारे चर्चा गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे ।
सभामुख अर्यालले नयाँ सरकार र नयाँ जनादेशसहित आएका जनप्रतिनिधिहरूले पुराना कमजोरी दोहोर्याउन नहुने भन्दै जनमुखी विकास, सुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।














