काठमाडौं, १० जेष्ठ । माइतीघर मण्डलामा जातीय विभेद, दलितमाथिको उत्पीडन र श्रृङ्खलाबद्ध हत्या विरुद्ध विद्रोह प्रतिरोधात्मक प्रदर्शन गरिएको छ ।
जात व्यवस्था उन्मुलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको प्रदर्शनमा देशभरका उत्पीडित समुदाय, मानवअधिकारकर्मी र बौद्धिक व्यक्तिहरू सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागीहरूले रुकुम सोती घटनामा मारिएका नवराज विक लगायत ६ युवाको सम्झनामा न्यायको माग गर्दै जातीय विभेद अन्त्यको आवाज उठाएका छन् ।
उनीहरूले अन्तरजातीय विवाह र प्रेमकै कारण हत्या हुने अवस्था अन्त्य गर्नुपर्ने, भूमिहीन दलितलाई जमिन, दलित विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रवृत्ति र दलित हत्याकाण्ड छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न माग गरेका छन् ।














