एजेन्सी । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोलीबारी भएको छ।
स्थानीय समय अनुसार साँझ ६ बजे १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा एक संदिग्ध बन्दुकधारीले अचानक गोली चलाउन थालेपछि अमेरिकी सिक्रेट सर्विसले जवाफी कारबाही गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका ती व्यक्तिको अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ।
घटनापछि ह्वाइट हाउसलाई तत्काल लकडाउन गरिएको थियो भने परिसरमा रहेका पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहे पनि उनको सुरक्षामा कुनै असर नपरेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो। हाल सिक्रेट सर्विस र स्थानीय प्रहरीले बन्दुकधारीको पहिचान तथा घटनाको उद्देश्यबारे अनुसन्धान गरिरहेका छन्।














