काठमाडौँ, ९ बैसाख । नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ -नेविसंघ) का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।
सिंहदरबार परिसरमा सुधन गुरुङको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टसहित केही विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिएको थियो ।
काँग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै पक्राउ कार्यप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टीले असहमति दमन नगरी संवादमार्फत समाधान गर्नुपर्ने भन्दै पक्राउ परेकाहरूलाई बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।















