काठमाडौं, ५ चैत । १–७ चैतसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेका छन् ।
यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ ।
विभागको तथ्याङ्कमा २०७० देखि २०८२ सालसम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदन अनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ ।
कूल घटनामध्ये करिब ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा समयमा लामो सुख्खा, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन, वन क्षेत्रमा मानव गतिविधि वृद्धिका कारण वन डढेलोको जोखिम बढी हुने उल्लेख छ ।
वैशाख महिनामा कूल घटनाको करिब ५७ दशमलव ७ प्रतिशत वन डढेलो भएको बताएको छ । २०७३ साललाई सबैभन्दा गम्भीर वन डढेलो वर्षका रूपमा देखाइएको छ । २०७८ र २०८१ सालमा उल्लेख्य सङ्ख्यामा डढेलोका घटना अभिलेख गरिएका छन् ।
विभागको विश्लेषणात्मक प्रतिवेदनअनुसार १ वैशाख २०८२ देखि २९ फागुनसम्म देशभर कम्तीमा २८२ वटा डढेलोका घटना अभिलेख भएको छ । प्रतिवेदनअनुसार गत वैशाख १ देखि फागुन २९ सम्म वन डढेलो देशका सातै प्रदेशमा फैलिएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ ।
सो प्रदेशमा मुलुकको कूल घटनाको करिब एक तिहाइ अर्थात् ३३ दशमलव ३ प्रतिशत वन डढेलो गएको थियो । प्रदेशगत रूपमा बागमतीमा १९ दशमलव १ र कर्णालीमा १६ दशमलव ७, गण्डकी प्रदेशमा ९ दशमलव ६, लुम्बिनी प्रदेशमा ८ दशमलव ९, कोशी प्रदेशमा ८ दशमलव २ र मधेश प्रदेशमा ४ दशमलव ३ प्रतिशत वन डढेलोका घटना भएका छन् ।














