काठमाडौं, ३ चैत । श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा भएका छन् ।
अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण इन्धन अभावको संकेत पाएपछि श्रीलंकाले सार्वजनिक बिदा दिएर किफायती उपाय अपनाएका हुन् ।
राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि बिदा दिने निर्णयमा पुगेका बताए ।
समाचार एन्जीसीका अनुसार श्रीलंकाको यो निर्णय एशियाली देशहरूले लिएको खर्च कटौतीका उपायहरूको श्रृंखलाको पछिल्लो कदम हो । युद्धका कारण खाडी क्षेत्रबाट एशियातर्फ जाने लाखौं ब्यारेल तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज अवरुद्ध भएको छ । जसका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेको छ भने विश्व बजारमा मूल्य पनि वृद्धि भएका छन् ।
अरु एसिया देशहरूले के के गरेको छ ?
इन्धन अभावको सामना गर्न एसियाका अन्य देशहरूले पनि विभिन्न किसिमका किफायती उपाय अपनाएकोे छ । थाइल्याण्डमा सरकारले एयर कन्डिसनको प्रयोग घटाउनका लागि मानिसहरूलाई कोट–सुटको सट्टा छोटो बाहुला भएको टिसर्ट लगाउन आग्रह गरेको छ ।
म्यानमारमा निजी सवारीसाधनहरूलाई जोर–बिजोर नम्बरका आधारमा आलोपालो मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । बंगलादेशले विश्वविद्यालयहरूमा रमजान बिदा अगाडि सारेको छ र देशभर ऊर्जा बचत गर्न योजनाबद्ध रूपमा विद्युत कटौती लागू गरेको छ ।
फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न निर्देशन दिएका छन् । त्यहाँका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सार्वजनिक क्षेत्रमा अनावश्यक यात्रा पनि प्रतिबन्ध लगाएका छन् ।
मार्कोसले ट्राइसाइकल चालक, किसान र माछा मार्नेहरूलाई बढ्दो इन्धन मूल्यको असर कम गर्न ३ हजारदेखि ५ हजार पेसोससम्म नगद सहयोग दिने घोषणा पनि गरेका छन् । यसैगरी भियतनामले नागरिकहरूलाई इन्धन बचत गर्न घरमै बस्न प्रोत्साहन दिएको छ । साथैसाइकल चलाउन, सार्वजनिक यातायात प्रयोग गर्न र आवश्यक नभएसम्म निजी सवारी प्रयोग नगर्न पनि आग्रह गरेको छ ।














