काठमाडौं, ९ फागुन । निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्न केन्द्रीय सुरक्षा समितिले जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चुनावी प्रचारका क्रममा आचारसंहिता उल्लंघन भएका घटनाबारे छलफल भएको थियो ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाङ, बारा लगायत केही जिल्लामा झण्डा जलाउने र प्रचारमा अवरोध गर्ने गतिविधि भेटिएको छ, जसमा कारबाही प्रक्रिया अघि बढिसकेको छ ।
बैठकले अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै सामाजिक सद्भाव कायम गर्न निर्देशन दिएको छ ।
साथै रौतहटमा भएको झडपबारे छलफल गर्दै संयमता अपनाउन र पर्याप्त सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको छ ।














