सप्तरी, ८ फागुन । सप्तरीमा अपहरित ७ वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
घटनामा संलग्न एक युवकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । खड्क नगरपालिका–८ बिसनपुरकी नेहा खातुन मंगलबार साँझदेखि अपहरणमा परेकी थिइन् ।
प्रहरीले फिरौती मागेको आरोपमा खड्क नगरपालिका–९ लालपट्टीका ३० वर्षीय इम्तियाज अहमदलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो क्षेत्रबाट पक्राउ गरेको हो ।
अहमदकै बयानका आधारमा सोही स्थानबाट बालिकाको उद्धार गरिएको प्रहरीको भनाइ छ । बालिकाका बुवालाई फोन गरी फिरौतीसहित बोलाएको सूचनाका आधारमा मोबाइल ट्र्याकिङ प्रयोग गरी अभियुक्तलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखनसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।














