काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा शनिबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ ।
रास्वपा रुपन्देही सभापति मधु अर्यालका अनुसार तत्कालका लागि सभा स्थगित गर्ने निर्देशन केन्द्रीय तहबाट आएको हो । पार्टी केन्द्रीय कार्यालयले संगठनात्मक प्राथमिकता निर्धारण र रणनीतिक व्यवस्थापनलगायत कारण देखाउँदै प्रदेश समितिलाई सभा स्थगित गरिएको जानकारी गराएको छ ।
यद्यपि, दाङमा रास्वपा र नेकपा एमाले बीच उत्पन्न तनावका कारण सभा स्थगित गरिएको हुनसक्ने अनुमान गरिएको छ । प्रदेशस्तरीय सभाका लागि पत्रकार सम्मेलन, प्रचार–प्रसार र स्टेज निर्माणको कामसमेत अघि बढिसकेको थियो ।
सभाका लागि रास्वपा सभापति रवि लामिछाने रुपन्देही आउने कार्यक्रम भए पनि स्थगनपछि त्यसबारे अन्योल देखिएको छ ।
यसैबीच, दाङ र रुपन्देहीका कार्यक्रमका लागि सुर्खेत पुगेका वरिष्ठ नेता बालेन साह स्वास्थ्य समस्याका कारण काठमाडौं फर्किएको पार्टी नेताहरूले बताएका छन् ।















