महोत्तरी, ७ फागुन । महोत्तरी–२ का बस्ती–बस्तीमा पछिल्ला दिनहरूमा चुनावी चहलपहल अलि फरक देखिन थालेको छ ।
माइक र भाषणभन्दा बाहिर निस्कँदै डा. राकेश मण्डलले सडक नाटक र घरदैलो अभियानलाई चुनावी संवादको मुख्य माध्यम बनाएका छन् ।
उज्यालो पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका मण्डलले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै गाउँ–टोलमा पुगिरहेका छन् ।
घरआँगनमै पुगेर उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारका सवालमा नागरिकका गुनासा र अपेक्षा सुन्ने गरेका छन् । यसैक्रममा पार्टीले महोत्तरी–२ का विभिन्न पालिकामा लगातार दोस्रो दिन सडक नाटक प्रस्तुत गरेको छ ।
स्थानीय कलाकारहरूको सहभागितामा मञ्चन गरिएका नाटकहरूमा सुशासन, पारदर्शिता, विकास निर्माण र सामाजिक न्यायका विषयलाई सरल र सन्देशमूलक ढंगले प्रस्तुत गरिएको छ ।
परम्परागत चुनावी सभाभन्दा फरक शैली अपनाइएको यो अभियानले विशेष गरी युवावर्गलाई आकर्षित गरेको स्थानीयहरू बताउँछन् । नाटक हेर्न जम्मा भएका भीडले चुनावी बहसलाई मनोरञ्जन र सन्देशसँग जोडेर बुझ्ने अवसर पाएको प्रतिक्रिया दिइरहेका छन् ।
पार्टीका कार्यकर्ताहरूका अनुसार सडक नाटक र घरदैलो अभियानले उज्यालो पार्टी नेपालका नीति तथा प्रतिबद्धता आम मतदातासम्म प्रभावकारी रूपमा पु¥याउन मद्दत गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै यस्ता सिर्जनात्मक प्रचार गतिविधिलाई अझ विस्तार गर्ने रणनीति पार्टीले अघि सारेको छ ।

















