काठमाडौं, ७ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको कुशासन, नातावाद र भ्रष्ट अभ्यासकै कारण देशमा पटक–पटक विद्रोह जन्मिएको बताएकी छन् ।
७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले युवालाई अपमान र तिरस्कार गरिरहे भविष्यमा पनि विद्रोह दोहोरिन सक्ने कडा चेतावनी दिइन् ।
उनले लोकतन्त्र प्रक्रिया मात्र नभई नतिजामुखी हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार, दण्डहीनता र सीमित वर्गको वर्चस्व लोकतन्त्रका मुख्य चुनौती भएको बताइन् ।
युवामा ऊर्जा, चेतना र परिवर्तनको चाहना रहेको भन्दै त्यसलाई दमन होइन, सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गरिने विश्वास पनि उनले दिलाइन् ।














