जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मैथिली भाषा र साहित्यको विकासका लागि आगामी दिनमा थप लगानी गरिने बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२ को उद्घाटन गर्दै उनले मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषा बनाउनेतर्फ सरकार अग्रसर हुने बताए ।
मैथिली विकास कोषको आयोजनामा तथा मधेस प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र राजर्षि जनक विश्वविद्यालयको सह–आयोजनामा सुरु भएको महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा नेपाल र भारतका भाषा, साहित्य तथा संस्कृतिका विद्वानहरूको सहभागिता रहेको छ ।














