काठमाडौँ, १९ माघ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरिरहेको चुनावी घोषणापत्रमा राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखन कार्य भइरहेको एमालेले जनाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार घोषणापत्र फागुनको पहिलो वा दोस्रो साताभित्र सार्वजनिक हुने सम्भावना छ र यसपटक घोषणापत्र सटिक, स्पष्ट र राष्ट्रिय हित केन्द्रित हुनेछ।
यसका लागि ओलीको नेतृत्वमा ६ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ, जसमा पार्टीका शीर्ष नेताहरू सहभागी छन्।
एमालेले अघिल्लो निर्वाचनमा अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको अनुभवलाई आधार मानेर नयाँ घोषणापत्र ल्याउने तयारी गरेको छ।














