सिरहा, १६ माघ । सिरहामा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक जना किसानको घटनास्थलमै मृत्यु भएको छ ।
सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवलाई खेत जोतिरहेका बेला गोली हानी हत्या गरिएको हो । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोलाको किनार नजिक रहेको आफ्नै खेतमा ट्र्याक्टर चलाइरहेका थिए ।
सोही क्रममा अज्ञात व्यक्तिले अचानक गोली प्रहार गरेपछि उनी ढलेका थिए । गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला प्रेमनाथ यादवमाथि गोली प्रहार गरी हत्या गरिएको जानकारी प्राप्त भएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानका क्रममा गोली प्रहारबाट हत्या भएको पुष्टि भएको बताए ।
तर घटनाको कारण र संलग्न व्यक्तिको पहिचान हालसम्म खुल्न नसकेको उनले बताए । प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान तीव्र पारेको छ भने हत्याको कारण, संलग्न व्यक्ति तथा सम्भावित उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।














