जनकपुर, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित ऐतिहासिक जानकी मन्दिरमा पुजाआजा गरेका छन् ।
धार्मिक भ्रमणका क्रममा जनकपुर पुगेका पूर्व राजा शाहको स्वागतका लागि मन्दिर परिसर तथा आसपासमा राजावादी समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
यस अवसरमा राजावादीहरूले ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरू लगाउँदै पूर्व राजाको भव्य स्वागत गरेका थिए । मन्दिर परिसर नाराबाजीले गुञ्जायमान बनेको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।
पुजाआजा सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा ज्ञानेन्द्र शाहले आफू धार्मिक यात्रामा रहेको र यसबारे बोल्नुपर्ने केही नरहेको बताएका छन् ।
उनले कुनै राजनीतिक टिप्पणी गर्न चाहेनन् । पूर्व राजा शाहसहितको टोलीलाई जानकी मन्दिरमा मठाधीश (महन्थ) ले औपचारिक स्वागत गरेका थिए भने राम मन्दिरमा युवा कमिटीका युवाहरूले स्वागत तथा सम्मान गरेका थिए ।
यसैक्रममा सञ्चारकर्मीहरूले राजावादी समर्थकहरूसँग कुरा गर्दा उनीहरूले मुलुकमा अब निर्वाचन नहुने र पुनः राजा आउने दाबी गरेका छन् ।
राजावादीहरूले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै राजसंस्थाको पुनस्र्थापनाको माग दोहो¥याएका छन् ।














