काठमाडौँ, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुगेको भन्दै मधेसमा चर्को आलोचना भइरहेको छ ।
चुनावको मुखमा आएका यी अभिव्यक्तिहरू सुनियोजित कि संयोग भन्नेबारे पनि चर्चा सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) ले मैथिली भाषामा दिएको अभिव्यक्तिमा प्रयोग भएको ‘छौरा’ शब्दलाई गलत अथ्र्याउँदै बस्नेतले टिप्पणी गरेपछि विवाद चर्किएको हो ।
त्यसपछि ओलीले दिएको एक टेलिभिजन अन्तर्वार्तामा मधेसलाई हेप्ने शैली देखिएको भन्दै आलोचना थप बढेको छ । विवाद बढेपछि एमाले सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका छन् भने उपमहासचिव रघुवीर महासेठले पनि पार्टीको नियत मधेस र मधेसी समुदायलाई अपमान गर्ने नभएको स्पष्टिकरण दिएका छन् ।
राजनीतिक विश्लेषक र एमालेकै उम्मेदवारहरूले यस्ता अभिव्यक्तिले मधेसमा पार्टीलाई चुनावी रूपमा नोक्सान पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन्। मधेस प्रदेश समिति बैठकमा समेत यो विषय उठेको छ ।














