जनकपुर, ११ माघ । प्रतिनिधि सभा निर्वाचनको समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषामा ठूलो झट्का लागेको छ ।
पार्टीका केन्द्रीय सचिव, अनुशासन विभाग प्रमुखसहित दुई दर्जनभन्दा बढी केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरूले एकैदिन सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन् ।
राजीनामा दिने नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिका कारण पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
उनीहरूले केही दिनभित्र नयाँ राजनीतिक यात्राको औपचारिक घोषणा गर्ने जनाएका छन् । स्रोतका अनुसार राजीनामा दिएका नेताहरू जसपा नेपालमा प्रवेश गर्ने तयारीमा छन् ।
सामूहिक राजीनामापछि धनुषामा राष्ट्रिय मुक्ति पार्टी कमजोर बनेको छ ।















