काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाटलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गरेका छन् ।
बिहीबारदेखि काठमाडौँमा रहेका अभिनेता दत्तसँग भएको भेट निकै आत्मीय र रमाइलो भएको प्रचण्डले बताएका छन् । अभिनेता सञ्जय दत्त काठमाडौँमा हालै सञ्चालनमा आएको ‘बादशाह क्यासिनो’को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ नेपाल आएका हुन् ।
काठमाडौँ आइपुगेपछि उनले ललितपुरको हात्तीवनस्थित प्रचण्डको निवासमै पुगेर भेटघाट गरेका थिए ।
दभेटपछि शुक्रबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै प्रचण्डले दत्तसँगको भेट स्मरणीय रहेको उल्लेख गरेका छन् । राजनीतिक र फिल्म क्षेत्रका दुई चर्चित व्यक्तित्वबीचको यस भेटलाई लिएर सामाजिक सञ्जालमा समेत चासो र चर्चा देखिएको छ ।














