काठमाडौं, २४ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा मागेका मन्त्रीहरूमध्ये युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई सरकारले नै अमेरिका जाने अनुमति दिएको छ ।
पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई माघ ३ गते अमेरिकामा हुने ‘जेनजी आन्दोलनपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको हो ।
यद्यपि मन्त्री गुप्ताको सचिवालयले भिसा प्रक्रिया सुरु नभएकाले अमेरिका जाने–नजाने टुंगो नलागेको जनाएको छ । राजनीतिक गतिविधिमा संलग्न मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरिएका बेला गुप्तालाई विदेश भ्रमणको अनुमति दिइनु विवादास्पद बनेको छ ।
कुलमान घिसिङको राजीनामापछि मन्त्री गुप्तासहित सरकारका प्रवक्तामाथि पनि राजीनामाको दबाब बढेको छ ।














