काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् ।
पुस २७ र २८ गते काठमाडौंमा बोलाइएको विशेष महाधिवेशनबाट पार्टी फुट्ने अवस्था आए सबैभन्दा पहिले आफू हलबाट बाहिरिने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले बदलिएको राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दाबी गरे।
कांग्रेस विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको लिखित माग आएकाले विशेष महाधिवेशन गर्नैपर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा असर नपार्ने र त्यसपछि कांग्रेस थप मजबुत भएर चुनावमा जाने शर्माको विश्वास छ ।














