जनकपुरधाम, २३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट वरिष्ठ नेता महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार ठाकुर स्वयं जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ठाकुर यसअघि महोत्तरी क्षेत्र नम्बर ३ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भइसकेका अनुभवी राजनीतिज्ञ हुन् ।
मधेश आन्दोलन र क्षेत्रीय राजनीतिमा लामो समयदेखि सक्रिय ठाकुरको उम्मेदवारीलाई मधेशको प्रतिनिधित्व र अनुभवको निरन्तरताका रूपमा हेरिएको छ । गत पुस १४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीच एकता गर्ने निर्णय भएसँगै राजनीतिक समीकरण बद्लिएको थियो ।
एकताअघि ठाकुर लोसपाका अध्यक्ष थिए । यसैबीच राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच औपचारिक तालमेल भएको छ ।
उक्त तालमेलअनुसार राष्ट्रिय सभाका कुल १८ सिटमध्ये नेपाली कांग्रेसले ९ सिट, नेकपा एमालेले ८ सिट र जसपा नेपालले १ सिट पाउने सहमति भएको हो ।
तीन दलबीचको सहमतिले सत्ता समीकरणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ भने महन्थ ठाकुरको उम्मेदवारीले मधेश प्रदेशको राजनीतिक प्रतिनिधित्वलाई राष्ट्रिय सभामा अझ सशक्त बनाउने विश्वास दलहरूले व्यक्त गरेका छन् ।














