काठमाडौँ, २३ पुस । विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशन कुनै रहर वा विकल्पको विषय नभई पार्टी विधानले अनिवार्य रूपमा व्यवस्था गरेको बाध्यकारी प्रावधान भएको स्पष्ट पारेका छन् ।
उनीहरूले पुस २८ गतेभित्रै विशेष महाधिवेशन आह्वान गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा पक्षधर समूहले विधानमा उल्लेखित प्रावधानको पालना नगर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “विशेष महाधिवेशन रहर वा छनोटको विषय होइन, यो पार्टी विधानले अनिवार्य रूपमा व्यवस्था गरेको बाध्यकारी प्रावधान हो । उनीहरूले पार्टीको वर्तमान अवस्था, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र संगठनात्मक स्पष्टताका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको दाबी गरेका छन् ।
प्रेस विज्ञप्तिमा पार्टी केन्द्रले आफ्नो दायित्व समयमै बुझ्ने र विशेष महाधिवेशन आयोजनाको सम्पूर्ण स्वामित्व लिने विश्वाससमेत व्यक्त गरिएको छ ।
साथै, विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न १८ वटा विभिन्न उपसमितिहरू गठन गरिएको र ती उपसमितिहरूका संयोजकहरूको नामसमेत सार्वजनिक गरिएको जनाइएको छ ।














