काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार मन्त्री जगदीश खरेल राजनीतिक गतिविधिमा सक्रिय देखिएको उल्लेख गर्दै यस्तो सुझाव दिएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीले राजनीतिक गतिविधिमा संलग्न मन्त्रीहरू नागरिक सरकारको मर्मविपरीत भएको बताउँदै राजनीतिक निष्पक्षता कायम राख्न नसक्ने मन्त्री मन्त्रिपरिषद्मा रहन नहुने धारणा राखेकी थिइन् ।
विशेषगरी ऊर्जा मन्त्री घिसिङको राजनीतिक सक्रियताप्रति प्रधानमन्त्री गम्भीर रहेको बताइएको छ ।














