एजेन्शी, करिब ७० लाख अष्ट्रेलियाली नागरिक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ ।
क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रमुख सहरका बाहिरी उपनगरहरू सहरी–जङ्गली आगलागीको गम्भीर जोखिममा छन् ।
सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, होबार्ट र क्यानबेराका बाहिरी क्षेत्रमा लस एन्जलसमा देखिएको जस्तै विनाशकारी आगलागी हुन सक्ने खतरा औँल्याइएको छ। सन् २००१ यता यस्ता क्षेत्रमा जनसंख्या तीव्र रूपमा बढेको र अधिकांश घरहरू कमजोर बुशफायर मापदण्डमा निर्माण भएको प्रतिवेदनले जनाएको छ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण अष्ट्रेलियाका अधिकांश सहरहरूमा घातक आगलागीको जोखिम बढ्दो क्रममा छ ।














