जनकपुर, २० पुस । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले देशमा अहिलेसम्म निर्वाचनका लागि आवश्यक वातावरण नबनेको बताएका छन् ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सुरक्षा अवस्था र राजनीतिक परिस्थितिका कारण तत्काल चुनाव गराउन कठिन रहेको धारणा राखे ।
आन्दोलनकै क्रममा लुटिएका प्रहरीका आधाभन्दा बढी हतियार अझै बाहिर रहेको उनले दाबी गरे । त्यस्तै लुटिएका ती हतियार कसको विरुद्धमा प्रयोग हुन्छन् भन्ने गम्भीर प्रश्न उठिरहेको छ,” नेता महासेठका अनुसार हालै भएको जेनजी आन्दोलनका क्रममा भागेका धेरै कैदी अझै पक्राउ परेका छैनन् ।
उनले भने, “यस्तो असुरक्षित र अन्योलपूर्ण अवस्थामा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन कसरी सम्भव हुन्छ ? उनले देशमा कानुनी शासन र सुरक्षा व्यवस्था मजबुत नबनाई चुनावको कुरा गर्नु व्यवहारिक नहुने जिकिर गरे ।
महासेठले सरकारको ध्यान पहिला शान्ति–सुरक्षा कायम गर्ने, फरार कैदी नियन्त्रणमा लिने र लुटिएका हतियार फिर्ता गराउनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।
राजनीतिक निकासको सन्दर्भमा उनले विगतको उदाहरण स्मरण गराउँदै संसद विघटन हुँदा सर्वोच्च अदालतले संसदलाई पूर्वावस्थामा फर्काएको उल्लेख गरे ।
त्यतिबेला जस्तै अहिले पनि संवैधानिक र कानुनी बाटो अपनाएर देशलाई निकास दिनुपर्छ,” उनले भने । उनका अनुसार राजनीतिक दलहरूबीच सहमति र संवैधानिक प्रक्रिया नै वर्तमान संकट समाधानको मुख्य उपाय हो ।














