जनकपुरधाम, १६ पुस । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णता पाएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले चार वटा राजनीतिक दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री तथा मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् ।
जनमत पार्टीबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री र नेकपा माओवादी केन्द्रबाट फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् ।
नवनियुक्त सबै मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् गठन प्रक्रिया पूरा भएको छ ।
गत १९ मंसिरमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन जना मन्त्री नियुक्त गरेका थिए ।
त्यसपछि दोस्रो चरणमा २९ मंसिरमा दुई जना मन्त्री थप गर्दै केही मन्त्रीलाई विभागीय जिम्मेवारी तोकेका थिए । आज थप ६ मन्त्री नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो ।














