जनकपुर, ६ पुस । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।
आज बसेको मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत यादव सभामुखमा निर्वाचित भएका हुन् । सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवले कुल ९६ जना उपस्थित सांसदमध्ये ७२ मत प्राप्त गरे भने विपक्षमा २४ मत परेको थियो ।
सभामुखको आसनमा रहेकी उपसभामुख बबिता राउत इशरले मत परिणाम घोषणा गर्दै रामअशिष यादव निर्वाचित भएको औपचारिक जानकारी दिइन् ।
यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतबाट पारित भएपछि सभामुख पदका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्तावलाई भने अघि बढाइएन ।
नव–निर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यसअघि मधेश प्रदेश सभाका सभामुख नेकपा एमालेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गरेको थियो ।
त्यसयता रिक्त रहेको सभामुख पदमा आज नयाँ नेतृत्व चयन भएको हो ।














