काठमाडौं, २५ मंसिर । साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत नेपाली क्लब एपीएफले आज साँझ ६ बजे भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडसँग दोस्रो खेल खेल्दैछ ।
पहिलो खेल जितेको एपीएफ आजको नतिजासँगै एक खेल अगावै फाइनल नजिक पुग्न चाहन्छ । ट्रान्सपोर्ट युनाइटेड भने दुई खेलमा गोलसमेत गर्न नसकेपछि ‘गर वा मर’ अवस्थाबाट खेल्नुपर्नेछ।
प्रशिक्षकले बाँकी खेल जितेर फाइनल पुग्ने दाबी गरेका छन् । रश्मी घिसिङ, मिना देउवा, अनिता केसी र सरू लिम्बु जस्ता खेलाडीको बलियो प्रदर्शन एपीएफको मुख्य हतियार मानिएको छ ।
यसअघि एपीएफ र भारतको इस्ट बंगालले मात्रै तीन–तीन अंक जोडेका छन् । आजै २ बजे इस्ट बंगालले कराँची सिटीसँग खेल्नेछ । दुवै टिमले जित हात पारे फाइनल यात्रा लगभग सुनिश्चित हुनेछ ।














