काठमाडौं, ३ मंसिर । मोरङमा पछिल्लो तीन महिनामा दुई बालिका नग्न अवस्थामा मृत फेला परेपछि प्रहरी अनुसन्धान चुनौतीपूर्ण बनेको छ ।
पहिलो घटना २८ असारमा बुढीगंगामा भेटिएकी करिब १४–१५ वर्षीया अज्ञात बालिकासम्बन्धी हो, जसको पहिचान चार महिनासम्म खुल्न नसकेपछि प्रहरीले बेवारिसे शवका रूपमा अन्त्येष्टिको प्रक्रिया अघि बढाएको छ ।
दोस्रो घटना २१ असोजमा घर नजिकै पिङ हालेपछि हराएकी लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको हो। १८ दिनपछि चिसाङ वनमा उनको क्षतविक्षत र नग्न अवस्थामा शव फेला परेको थियो।
मेडिकल रिपोर्टले शव सडेको कारण बलात्कार पुष्टि गर्न नसके पनि प्रहरी दुवै घटनालाई सम्भावित बलात्कारपछि हत्या मान्दै अनुसन्धान गरिरहेको छ ।
अंशुको हत्यामा संलग्न पत्ता लगाउन प्रहरी, सीआईबी र प्रदेश टोली सक्रिय छन् तर प्रगति छैन। अज्ञात बालिका भारतीय हुन सक्ने अनुमानसहित खोजी सीमापारसम्म गरिएको छ ।














