सिराहा, ३ मंसिर । सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा मध्यराति आएको डाँका समूहले गोली प्रहार गर्दा बुबा–छोरा गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो रहेका छन् ।
घटनाबारे जानकारी दिँदै सिराहा प्रहरीका प्रवक्ता डीएसपी रमेश बहादुर पालले डाँकाहरुले घरमा लुटपाट गर्न खोज्दा महतो परिवारले प्रतिकार गरेको र त्यसकै क्रममा डाँका समूहले अन्धाधुन्ध गोली प्रहार गरेको बताए ।
गोली दुवै जनाको छातीतर्फ लागेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगरस्थित अस्पतालमा रेफर गरिएको छ ।
घटनापछि डाँका समूह फरार रहेको र उनीहरूको खोजी तथा अनुसन्धान तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार पछिल्लो समय सो क्षेत्रमा चोरी–डाँकाको घटना दोहोरिन थालेपछि सुरक्षा व्यवस्था कडा पार्न माग भइरहेका छन् ।
प्रहरीहरूले घटनास्थलबाट केही प्रारम्भिक प्रमाण संकलन गरेको र आसपासका क्षेत्रमा रातभर खोजतलास जारी राखेको बताएका छन् ।














