काठमाडौं, १ मंसिर । अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात गर्ने प्रक्रिया पूर्णतः बन्द गरेको छ ।
करिब दशकअगाडि अफगानिस्तानले पाकिस्तानबाट ३० करोड अमेरिकी डलरभन्दा बढी बराबरको पिठो आयात गरेको थियो, तर पछिल्ला वर्षहरूमा यो निर्भरता क्रमशः घट्दै गएको थियो ।
बीबीसीका अनुसार अब भने अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात पूर्णरूपमा बन्द गरिसकेको छ । दुई देशबीच हाल बढ्दै गइरहेको कूटनीतिक तथा राजनीतिक तनावका कारण तालिबान सरकारले पाकिस्तानसँगका व्यापारिक क्रियाकलाप सीमित–थप अन्त्य गर्ने संकेत दिँदै आएको थियो । तालिबान प्रशासनले आफ्ना व्यापारीहरूलाई पाकिस्तानका विकल्प खोज्न र अन्य मुलुकहरूसँग व्यापार विस्तार गर्न निर्देशनसमेत दिइसकेको छ ।
केही दशकदेखि अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक मार्ग पाकिस्तान नै रहँदै आएको थियो, जसले उसको कुल व्यापारको झण्डै आधा हिस्सा ओगट्थ्यो । अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजार अनुगमन संस्थाहरूका तथ्यांकप्रमाणे, सन् २०१५ मा अफगानिस्तानले पाकिस्तानबाट ३२० मिलियन डलर बराबरको पिठो आयात गरेको थियो।
तर सन् २०२४ सम्म आइपुग्दा देशले उज्बेकिस्तान, कजाकिस्तान र रूसबाट ६८९ मिलियन डलरको गहुँ तथा पिठो खरिद गरेको छ । आगामी सन् २०२५ मा यो आयात मूल्य ७५० मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ ।














