काठमाडौँ, २४ कात्तिक। मधेश प्रदेशमा हालै नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध विपक्षी दलहरू सर्वोच्च अदालतमा जाने तयारीमा छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनका अनुसार मुद्दा आजै दर्ता गर्ने र सम्भव भएसम्म आजकै दिन आदेश आउन सक्ने अपेक्षा गरिएको छ।
आज बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ९(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर उपधारा ९(२) बाट पनि विकल्प बाँकी हुँदाहुँदै ९(३) प्रयोग गरिनु कानुनी रूपमा त्रुटिपूर्ण भएको विपक्षी दलहरूको आरोप छ।
विपक्षमा उत्रिएका दलहरूमा लोसपा, जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल रहेका छन्। नेपाली कांग्रेसले पनि यो नियुक्तिको असहमति जनाउँदै सर्वोच्चमा जाने तयारीलाई समर्थन गरेको छ।














