काठमाडौं, २३ कार्तिक । संसद् पुनस्र्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेपछि सांसदहरूले न्यायालयमा पुनस्र्थापनाको मागसहित अभियान थालिएको बताएका छन् ।
पूर्व सांसद श्यामकुमार घिमिरेका अनुसार, हस्ताक्षर संकलन गरी पार्टी नेतृत्वलाई बुझाइनेछ र पार्टी एकमत भएर अघि बढ्नुपर्ने आग्रह गरिएको छ ।
यसअघि एमालेले पनि यस्तै अभियान सञ्चालन गरिसकेको छ । संसद् पुनस्र्थापनाका मागसहित सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन् ।
प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको थियो, जसपछि अन्तरिम सरकार गठन भई आगामी फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ ।














