जनकपुर, २२ कार्तिक । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनलको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन सरकार २५ दिनमै ढलेको छ ।
शनिबार विश्वासको मत लिने दिन नै नेकपा माओवादी केन्द्रका दुई सांसद — रहबर अंसारी र माला कर्ण —ले विद्रोह गरेपछि सरकार ढलेको हो ।
अंसारीले सदनमा सरकार केन्द्रको निर्देशनमा बनेको भन्दै विश्वासको मत नदिने घोषणा गरेका थिए, र आफ्नो अनुहारमा मोसो दल्दै विरोध जनाएका थिए।
त्यसपछि कर्णले पनि समर्थन नदिने बताइन् । सदनमा मत विभाजनको तयारी भइरहेकै बेला सत्ता पक्ष र प्रतिपक्षबीच विवाद बढेपछि मुख्यमन्त्री सोनलले अन्ततः राजीनामा घोषणा गरे ।
विश्वासको मत नपाउने अर्को कारण जनमत पार्टीभित्रको विभाजन र त्यसका सांसदहरूको अनुपस्थिति पनि रह्यो । सोनलले आफ्नो राजीनामापछि संघीयता कमजोर पार्ने खेल भइरहेको आरोप लगाउँदै पुनः वातावरण बनाएर सरकारको दाबी पेश गर्ने संकेत दिएका छन् ।














