काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६० वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि दुई हप्ताअघि काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएका आलमलाई मिर्गौला फेल भएर भेन्टिलेटरमा राखिएको थियो ।
निरन्तर उपचारका क्रममा गएराति साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ । उनी केही वर्षअघि रौतहटको बम विस्फोट तथा हत्या प्रकरणमा जेल परेका थिए तर पछि उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो ।
रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक भएको र त्यसको दीर्घकालीन असरकै कारण मृत्यु भएको चिकित्सकहरूले बताएका छन् ।














