काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई कार्यान्वयनको सही बाटोमा ल्याउनका लागि अब निर्वाचन अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।
पार्टीले शुक्रबार चितवनको सौराहामा सुरु गरेको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै निर्वाचनलाई देशको संवैधानिक मार्ग पुनस्र्थापनाको प्रमुख उपायका रूपमा चित्रण गरेको हो ।
प्रतिवेदनमा भनिएको छ, “दलीय व्यवस्थामा देखिएका विशेष राजनीतिक परिस्थितिले गैर–दलीय सरकार निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
तर यस्तो सरकारको पहिलो जिम्मेवारी नै लोकतान्त्रिक अभ्यासलाई पुनर्जीवित गर्ने र निर्वाचन गराउने वातावरण तयार पार्नु हो । अर्यालले प्रतिवेदनमार्फत स्पष्ट पारे, “संविधान कार्यान्वयनको ट्रयाकमा ल्याउन अब निर्वाचन अपरिहार्य छ ।
लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने सबै दललाई पनि चुनावप्रति प्रतिबद्ध रहन प्रोत्साहित गर्न आवश्यक छ । रास्वपाको प्रतिवेदनले वर्तमान सरकारलाई चुनावी तयारी र व्यवस्थापनका विषयमा सचेत रहन आग्रह गरेको छ ।
पार्टीले संविधानको मर्म र लोकतान्त्रिक मूल्यलाई सुरक्षित गर्न जनताबाट नयाँ जनादेश प्राप्त गर्नु नै सर्वोत्तम उपाय भएको बताएको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संयोजक तथा विभिन्न तहका प्रतिनिधिहरू सहभागी रहेका छन् । बैठकमा आगामी राजनीतिक रणनीति, स्थानीय तहमा संगठन विस्तार र आगामी निर्वाचनको तयारीबारे समेत छलफल भइरहेको रास्वपाले जनाएको छ ।














