काठमाडौं, २० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार साँझ स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्च पदाधिकारीहरूले स्वागत गरेका थिए ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित दोहा प्रस्थान गरेका थिए ।
उनले सम्मेलनको मुख्य सत्र र सामाजिक विकासका तीन स्तम्भ—गरिबी निवारण, उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण—सम्बन्धी गोलमेच सत्रमा सम्बोधन गरेका थिए।
दोहा बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट र कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन पनि गरेका थिए ।














