काठमाडौं, १९ कात्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चाप न्यून र व्यावसायिक घाटा बढेका कारण वायुसेवा कम्पनीहरूले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकेको सरकारी अध्ययन आयोगले निष्कर्ष निकालेको छ ।
नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव आयोगले वर्तमान अवस्थामा विमानस्थलबाट नियमित यात्रु उडानहरू व्यावसायिक रूपमा सम्भव नभएकाले यसको वैकल्पिक उपयोगका उपाय खोज्न सुझाव दिएको हो ।
आयोगका अनुसार विमानस्थलको भौगोलिक स्थिति नेपालभरिबाट निर्यातमुखी वस्तु ढुवानीका लागि अत्यन्त उपयुक्त देखिन्छ । त्यसैले यसलाई कार्गो (सामान ढुवानी) उडानका लागि पूर्वाधार केन्द्रका रूपमा विकास गर्न सकिने सिफारिस गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो कार्गो चापलाई ध्यानमा राख्दै आयोगले नेपाल भित्रिने ठूला वायुसेवा कम्पनीहरूलाई कार्गो उडानका लागि आकर्षित गर्न सकिने उल्लेख गरेको छ ।
अध्ययन आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले अन्तर्राष्ट्रिय यात्रु सेवा भने सरकारका अघिल्ला निर्णयअनुसार निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ । साथै, वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण ‘इकोसिस्टम’ तयार गर्नुपर्ने भनिएको छ ।
नेपालका व्यवसायीलाई वायुयान लिजिङ र विशेष सुविधा उपलब्ध गराई गौतमबुद्ध विमानस्थललाई बेस बनाउँदै कार्गो एयरलाइन्स सञ्चालन गर्न प्रोत्साहन दिन आयोगले आह्वान गरेको छ ।
आयोगले विमानस्थल र लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन कमजोर रहेको उल्लेख गर्दै, लुम्बिनीलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यको हबका रूपमा विकास गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।














