काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन भएको छ ।
आइतबार दिउँसो भएको प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित पार्टीका युवा कार्यकर्ताहरू सहभागी थिए । प्रदर्शनकारीहरूले युवाको प्रतिनिधित्व सुनिश्चित गर्न र पार्टीका सबै तहमा ४० वर्ष मुनिका व्यक्तिहरूलाई कम्तीमा ४० प्रतिशत समावेश गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले कांग्रेसभित्र सुधार र रुपान्तरणका एजेन्डा अघि सार्दै ‘कांग्रेस सुधार अभियान’ सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै नेविसंघका सदस्य भूवन भट्टले नेपाली कांग्रेसलाई समयसापेक्ष रूपमा रुपान्तरण गर्नुपर्ने बताउँदै युवाहरूको परिवर्तनको आकांक्षालाई पार्टीले बेवास्ता गर्न नहुने चेतावनी दिए ।














