काठमाडौं, १५ कार्तिक । काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी अपेक्षा भन्दा बढि लम्बिएको छ ।
मौसमविद् उज्वल उपाध्यायका अनुसार तीनवटा मौसम प्रणालीको संयोजनका कारण यस्तो भएको हो । बिहीबारदेखि सक्रिय रहेको मोन्था आँधी पश्चिमी वायुसँग मिसिएर ठूलो प्रणाली बनेको र बंगालको खाडीमा बनेको नयाँ चक्रवातीय प्रणालीले त्यसलाई उल्टो दिशामा धकेलेको उनले बताए ।
साथै, अरब सागरबाट आएको अर्को प्रणालीले पनि नेपालतर्फ नमीयुक्त हावा ल्याइरहेको छ । तीनै दिशाबाट आएको जलवाष्पयुक्त हावाले बागमती, गण्डकी र कोशी क्षेत्रमा बादल अड्किँदा लगातार हल्का वर्षा भइरहेको हो ।
तर अब बादलको घनत्व घट्दै गएकोले करिब १२ घण्टाभित्र मौसममा सुधार आउने र भोलिदेखि घाम लाग्ने सम्भावना उच्च रहेको उपाध्यायले बताएका छन् ।














