काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको आगजनी, तोडफोड र क्षतिमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ ।
आइतबार बसेको न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो । जाहेरी सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू (मुख्य रजिस्ट्रार वा रजिस्ट्रार) को नामबाट जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरिनेछ ।
अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार हालसम्म कसैको नाम किटानी गरिएको छैन र अनुसन्धान प्रहरीले गर्नेछ । जेन–जी आन्दोलनपछि भएको देशव्यापी आगजनीले सर्वोच्च अदालतमा रहेका करिब २० हजार विचाराधीन र करिब १ लाख ९७ हजार फैसला भइसकेका फाइल नष्ट भएका छन् ।
साथै, ५० भन्दा बढी सवारीसाधन र डेढ सयभन्दा बढी मोटरसाइकल जलेका छन् । जाहेरीमा सर्वोच्च मात्र नभई अन्य अदालतमा भएको क्षतिको विवरण पनि समावेश गरिने तयारी छ ।














